logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • ललिता निवास जग्गा अनियमितता प्रकरणमा फेरि अनुसन्धान थालियो, ५ जना पक्राउ

    ललिता निवास जग्गा अनियमितता प्रकरणमा फेरि अनुसन्धान थालियो, ५ जना पक्राउ

    6.6K
    Shares
    ललिता निवास जग्गा अनियमितता प्रकरणमा फेरि अनुसन्धान थालियो, ५ जना पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवास जग्गामा भएको अनियमितता प्रकरणमा पुनःअनुसन्धान थालेको छ ।

    महान्यायाधीवक्ताको हस्तक्षेपका कारण डेढवर्ष अगाडि स्थगित भएको अनुसन्धान प्रहरीले फेरि अघि बढाएको हो। सो क्रममा प्रहरीले योजनाकारमध्येका भनिएका एक भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ र अन्य ४ जना पुराना कर्मचारीसहित पाँच जनालाई पक्राउ गरेको हो ।

    गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले जानकारी दिएको छ । देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख हुन् ।

    केसी डिल्लीबजार मालपोतमा बसेर पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भूमि विज्ञसमेत भएका थिए । गौतम र कपाली पनि कर्मचारी हुन् । सीआईबी श्रोतका अनुसार ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानकै क्रममा उनी पक्राउ परेका हुन् ।

    स्रोतले दिएको जानकारी अनुसार, उक्त घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

    सुरुमा ललिता निवासको जग्गा अनियमिततामा अख्तियारले अनुसन्धान गरेको थियो । उसले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ ।

    अख्तियारले भ्रष्टाचार बाहेक ठगी र सरकारी कागजात किर्ते गरेको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने भनी राय सुझाव दिएको थियो ।

    ठगीमा मुद्दा चल्न नसक्ने महान्यायाधीवक्ताको कार्यालयले भने फाइल बन्द गरिसकेको छ। सरकारी कागजात किर्तेको आरोपमा दुईवर्ष अगाडि अनुसन्धान थाले पनि मुद्दा दायर हुन सकेन । उक्त समयमा रोकिएको फाइल अहिले अघि बढाइएको हो । तत्कालीन मुलुकी ऐन अनुसार, किर्तेको अभियोगमा अनुसन्धान गर्न हदम्याद लाग्दैन ।

    तत्कालीन महान्यायाधीवक्ता खम्मबहादुर खातीको निर्देशनमा सरकारी वकिलको कार्यालय, काठमाडौंले २०७८ मंसिरको अन्तिम साता फेरि अनुसन्धान गर्नु अघि फाइल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी) मा पठाएको थियो ।

    त्यतिबेला सीआईबीले सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्दा चलाउनुपर्ने भनी अनुसन्धान प्रतिवेदन बनाएको थियो ।

    प्रहरीले ललिता निवास जग्गा अनियमितताका घटनामा चारवटा अनुसन्धान प्रतिवेदन तयार पारी २०७८ मंसिरमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यतिबेला सरकारी वकिलको कार्यालयले पर्याप्त अनुसन्धान नगरेको र हचुवाको भरमा प्रतिवेदन पेश गरेको भनी निर्देशन सहित फाइल अघि बढाएको थियो।

    ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई समेत भ्रष्टाचारको मुद्दा चलेको छ ।

    अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातदेखि अरु दुई पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारी पनि मुछिएका छन् ।

    शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ लगायतमाथि जग्गा अनियमितताको योजना बनाएको आरोपमा अख्तियारले तीन वर्षअघि दर्ता गराएको भ्रष्टाचारमुद्दा विशेष अदालतमा विचाराधीन अवस्थमा रहेको छ ।

    यसअघि सीआईबीले पुरानै रायअनुसार ३ सय जनाभन्दा बढीमाथि मुद्दा चलाउनुपर्ने भनी फाइल सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend