काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गर्दै यस्ता विकृति विरुद्धको लडाइँ यतिमै सीमित नहुने बताएका छन् ।
प्रधानमन्त्री कार्यालयको बजेटमाथि आज प्रतिनिधिसभामा उठेका प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका हुन् ।
आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार हुँदै गइरहेको बताए ।
उनले हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही थालेको बताए ।
यसले कानुनको मात्र होइन र लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको उनको भनाई छ । ‘उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ’ प्रचण्डले भने, ‘यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’
यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने बताए । उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोल्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ ।’
वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनता चाहिने प्रधानमन्त्रीको भनाई छ ।