डडेल्धुरा । सरकारका परराष्ट्रमन्त्री एवं सत्तारुढ नेपाली काँग्रेसका प्रभावशाली नेता नारायण प्रसाद (एनपी) साउदले वर्तमान सत्ता गठबन्धनमा नभत्किने कुनै सम्भावना नरहेको बताएका छन् ।
शनिवार डडेल्धुरामा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री साउदले अहिले बजारमा आएको हल्ला जस्तो एमालेसँग मिलेर सरकार बनाउने कुनै सम्भावना नभएको दाबी गरेका हुन् ।
‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ, त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन,’ मन्त्री साउदले भने ।
विपक्षी दलका मागलाई सम्भव भएजति सम्बोधन गर्ने प्रयन्त गरिएको उनको भनाई छ । पहिलोपटक भारतसँग कुटनैतिक रुपमा कालापानी तथा लिम्पियाधुरा क्षेत्रको समस्याबारे छलफल गरिएको उनले स्पष्ट गरे ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका दौरान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो समस्या समाधानबारे सकारात्मक प्रतिक्रिया दिएको उनले बताए ।
‘भारतका प्रधानमन्त्रीले पहिलोपटक सीमा लगायतका मुद्दाहरु वार्तामार्फत समाधान गरिनेछ भनेर भन्नुभएको छ’, उनले भने, ‘भारतले नेपालको भू–भाग डुबान हुनेगरी महाकाली नदीमा निर्माण गरिरहेको संरचनाका बारेमा पनि हामीले जानकारी गराएका छौं।’
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरका सीमावर्ती क्षेत्रका नेपाली नागरिकलाई दिइरहेको दुःखका सम्बन्धमा पनि भारतीय पक्षलाई जानकारी दिइएको मन्त्री साउदले बताए ।
उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका बखतमा प्रक्रिया सुरु गरिएको डडेल्धुराको परशुरामको शिर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुल निर्माणको काम ६ महिनाभित्र सुरु हुने जानकारी दिए ।
‘ती दुवै स्थानमा पुल बने व्यापारिक नाकाको विकास हुनेछ। यहाँ विकास हुनेछ।’ उनले भने ।