काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताएका छन् ।
बुधवार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै उनले चुनाव जसरी पनि जित्नुपर्ने नभइ स्वस्थ प्रतिष्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राखे ।
उनले भने– ‘तपाईहरुलाई संसदका पदाधिकारीहरु, सचिवालय सबैले गर्नुपर्ने खालका सबै सहयोगहरु गर्नुपर्छ । व्यक्तिगत हिसावले कहीँ, कतै केही कमजोरीहरु हुँदा स्वभाविक आलोचना त गर्नैपर्छ । त्यो नगरीकन गुणगान गाउनका लागि मात्रै त पत्रकार हुनै पर्दैन । आग्रह पूर्वाग्रह, कसैको बिरोध मात्रै गर्ने कहीँ आँखा चिम्लेर समर्थन गर्ने । त्यो पत्रकारिताको मर्मभित्र पर्दैन । प्रतिष्पर्धा सहज ढंगले हुनु अन्यथा भएन । लोकतान्त्रिक प्रक्रियामा त्यो हुन्छ । सहजतापूर्वक लिने र एकदमै सहज ढंगले निर्वाचन गराउने । नेपालको राजनीतिमा जसरी पनि जित्नुपर्छ भन्ने छ । जसरी भन्ने कुरालाई हटाउन राजनीतिक दलहरु अरु चुनावमा पनि पर्छ । कहीँपनि त्यसरी जसरी पनि होइन । एउटा स्वस्थ प्रतिस्पर्धाले विश्वास जितेर आउने गरीकन चुनावहरु भयो भने राम्रो हुन्छ ।’
उनले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताए ।