काठमाडौं । नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नेतृत्वबाटै कमिसन र भ्रष्टाचारको जालो संरक्षित हुने गरेको दाबी गरेका छन् ।
आफ्नो निजी निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले यसमा नेतृत्वबाट संरक्षित रहेको वा राजनीतिक नेतृत्वकै संलग्नता हुने गरेको आरोप लगाएका हुन् ।
सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था भएकाले आफूले समस्या समाधान गर्न आँट गरेको उनको भनाई छ ।
सोही अभियान स्वरुप आफूले गृहमन्त्री भएकै दिन सुराकी खर्च कटौती गर्ने निर्णय गरेको गृहमन्त्री श्रेष्ठले स्पष्ट गरे ।
सुराकी खर्च गर्नै पर्ने भए पनि कहीँ न कहीँ क्रश चेक हुनु पर्ने बताउँदै उनले भने, ‘देशमा राजनीतिक संस्कृति नै यस्तो छ कि कसैले सही काममा लागि गरे पनि त्यो सही काममै प्रयोग हुन्छ भन्ने विश्वास नै गर्न सकिँदैन ।’
आन्तरिक सुशासनबिना समाजमा सुशासन स्थापना हुन्छ भन्नु फगत कुरा मात्र हुने बताउँदै उनले आन्तरिक सुशासनलाई पहिलो शर्तका रुपमा जोड दिनुपर्ने बताए ।