logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सदनमा एमालेको अवरोध कायमै, राष्ट्रियसभा बैठक आज पनि स्थगित

    सदनमा एमालेको अवरोध कायमै, राष्ट्रियसभा बैठक आज पनि स्थगित

    1.1K
    Shares
    सदनमा एमालेको अवरोध कायमै, राष्ट्रियसभा बैठक आज पनि स्थगित

    काठमाडौं । राष्ट्रियसभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ ।

    शुक्रबार पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आईतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।

    बैठकको सुरुमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनु परेको बताइन् ।

    उनले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उनलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेकोे जिकीर समेत गरिन् । देशकै सम्माननित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको सांसद घिमिरेको दावी थियो ।

    उनले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले आज हाम्रो सामाजिक सञ्जालमात्रै होइन । पूर्व मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म निकै विरोध भईरहेको छ । र, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिइइको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको छ । सम्माननीय अध्यक्षज्यू, यो भनाईले हाम्रो देशको सम्मानित संसद र सांसदहरुको समेत अपमान मात्र भएको छैन । यसले संविधानको धारा ५को समेत आकर्षित भएको छ । सम्माननीय अध्यक्षज्यूमार्फत् म सोध्न चाहन्छु–नेपालको प्रधानमन्त्री जनताद्वारा चुनिएको यो सार्वभौम संसदले बनाउने हो कि कतै दिल्लीलाई खुशी बनाएर पाउने हो ? के साँच्चै भारतका लागि कम्फटेवल सरकार दिल्लीबाटै बनेको हो त ? यो प्रश्न गम्भिर रुपले नेपाली जनताले उठाईरहेका छन । हामीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले यो गरिमामय सदन अवरुद्ध गरिरहेका छैनौं । हामी त नेपालको सार्वभौमिकता र संसदको गरिमाको रक्षा गर्नु हाम्रो दायित्व हो भनेर यो भूमिका निर्वाह गरिरहेका छौं । यो राष्ट्र निर्माणमा हाम्रो वीर पूर्खा भक्ति थापा, अमरसिंह, वीर बलभद्रलगयतको रगत र पसिना बगेको छ । कहिले कसैको उपनिवेश नभएको हाम्रो मुलुकमा देशकै सम्माननित पदमा रहेर प्रधानमन्त्रीले दिएका आत्मसमर्पणवादी अभिव्यक्तिले हाम्रो दल नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको छ । र, यसमा हामी गम्भिर असहमती जनाईरहेका छौं । आफ्नै पदका लागि आत्मसमर्पण गर्ने प्रधानमन्त्रीद्वारा नेपाली जनतालाई शासित हुन दिन सक्दैनौं । त्यसैले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार गमाई सक्नु भएका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्छ । राजीनामा नआएसम्म आजको कार्यसूचि फेरीपनि अगाडि नबढाईयोस् । म सम्माननीय अध्यक्षज्यूको ध्यान आकर्षण गराउनु चाहन्छु ।’

    एमाले सांसदहरुले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटक–पटक आग्रह गरेका थिए तर आफ्नो अडानबाट एमाले सांसदहरु पछि नहटेसम्म अध्यक्ष तिमिल्सिनाले असार २४ गते आईतबारसम्मका लागि सो बैठक स्थगित गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend