काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ( ग्रेडवृद्धि ) परीक्षा आउँदो साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना प्रकाशित गर्दै पूरक परीक्षाको मिति कायम गरेको हो ।
अन्तिम ग्रेड सी वा सी भन्दा न्यून ग्रेड प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले समेत पूरक परीक्षा दिने पाउने बोर्डले बताएको छ ।
ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय ईकाइमा बुझाउनु पर्ने बोर्डले सूचित गरेको छ ।
परीक्षा रद्द भएका परीक्षार्थीले भने पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्ने बताइएको छ ।
गत चैत १७ गतेदेखि लिएको एसईईको नतिजा असार २१ गते प्रकाशित गरिएको थियो । जसअनुसार २२ हजार ४७५ विद्यार्थीले ए प्लस ग्रेड ल्याउन सफल भएका थिए ।