वीरेन्द्रनगर । सुर्खेतमा जरायो मारेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ। वीरेन्द्रनगर–१० नयाँगाउँ क्षेत्रमा जरायो मारेर मासु भागवण्डा लगाइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जरायो मारेर भाग लगाइरहेको गोप्य सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले अनुसन्धानकै क्रममा पहिलो चरणमा पाँच जनालाई पक्राउ गरिएको जिल्ला बताए ।
उनका अनुसार घटनामा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिएकाले पक्राउका लागि प्रहरी परिचालन गरिएको छ ।अनुसन्धान प्रभावित हुने भन्दै पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य नै राखेको छ । घटनास्थलबाट जरायोको मासुसमेत बरामद गरेको प्रहरीले बताएको छ ।