काठमाडौं । काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय गरेको छ । उक्त शंकास्पद वस्तु बम नभएको पाइएको छ ।
नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
सिनामंगल पुल नजिकै खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आजै बिहान शंकास्पद वस्तु फेला भेटिएको थियो । कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो । तर उक्त बस्तु बम भएर डर पैदा गर्न मात्र राखिएको देखिएको छ ।
नेपाली सेनाको टोलीले सो शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले समातेको छ । प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेपछि स्थानीयले प्रहरीको समर्थनमा हुटिङ समेत गरेका थिए ।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा समेत फेला परेको थियो । घटनाबारे अनुसन्धान जारी रहेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले बताए ।