काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द निलम्बनमा परेका छन् ।
त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएपछि चन्दलाई निलम्बन गरिएको र अन्यमाथि पनि छानविन र कारवाही प्रक्रिया अघि बढाइएको भन्सार विभागले जनाएको छ । भन्सारका अन्य एक जना सुब्बा पनि निगरानीमा रहेको स्रोतले जानकारी दिएको छ ।
मोटरसाइकल तथा स्कुटरको ब्रेक सु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद भएको हो । एक सय ६० केजी अवैध सुनबारे राजश्व अनुसन्धानले सुचना पाएपछि उसले हस्तक्षेप गरेर बरामद गरिएको थियो ।
यसरी चीन तथा हङकङ हुँदै नियमितरुपमा सुन तस्करी हुँदै आएकोमा २९औं पटकमा पक्राउ गरिएको हो । विमानस्थलमै रहने सरकारी युनिटहरुको सेटिङ्गमा सुन तस्करी हुँदै आएकोमा अहिले भने राजश्व अनुसन्धानले हस्तक्षेप गरी पक्राउ गरेको हो ।
तस्करीमा संलग्न रहेको आशंकामा केही व्यक्ति र ट्याक्सी चालकलाई समेत पक्राउ गरिएको छ । यसमा एक जना नाम चलेका ठूलो व्यवसायको पनि नाम जोडिएको बताइएको छ ।