काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार अवैध रूपमा ल्याइएको अनुमानित १०० किलो सुन वरामदका विषयमा छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ ।
विभागको अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास गरी ट्याक्सीमा लैजान क्रममा सुन बरामद गरिएको थियो । सो प्रकरणमा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ ।
सुन भित्र्याउने क्रममा संलग्नता देखिएका भन्सारका कर्मचारीमाथि समितिले छानबिन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा आयाततर्फ खटिएका कर्मचारीको संलग्नताका विषयमा समितिले छानबिन गर्ने उनले बताए । समितिले आज नै कार्गो भवन गई त्यहाँ रहेका सीसीटीभी फुटेज समेत हेर्ने बताइएको छ ।
छानबिनमा तानिने भन्सारका सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी समेत रहेको बुझिएको छ ।
मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।