काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी ल्याइएको अनुमानित करिब एक सय किलो बरामद गरिएको सुन तौलिनका लागि टक्सार विभागमा लगिएको छ ।
राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।
राजश्व अनुसन्धान विभागको टोलीले मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट बरामद गरेको थियो ।
बरामद सुनको परिमाण कति हो भन्ने एकित भइसकेको छैन । त्यसैले विभागले सुन जोख्नका लागि राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल बराबरको परिणाममा रहेको हुन सक्ने बताएका छन् ।
यस प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परी अनुसन्धान पक्रिया अघि बढाइँदै छ ।