
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ करिब सय किलो सुन बरामद गरिएको घट्नामा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
राजस्व अनुसन्धान विभागले बरामद गरेको सो प्रकरणमा चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। भन्सार छली गरी ल्याएको उक्त सुन प्रकरणमा बुधबार साँझ दुई र बिहीबार बिहान ४ गरी ६ जना यसअघि नै पक्राउ परिसकेका छन्।
सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरी र भन्सार विभागका अनुसार उक्त प्रकरणमा हालसम्म दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा गरी ६ जना पक्राउ परेका हुन्।
उक्त प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा एक सय केजी सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ।
यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend