सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

फेसबुकको उक्साहटले ‘धर्म विवाद’ मा तानिएका हर्क साम्पाङ

फेसबुकको उक्साहटले ‘धर्म विवाद’ मा तानिएका हर्क साम्पाङ

प्रकृति भाट, काठमाडौं । त्यसो त सामाजिक सञ्जालले कसलाई छिनमै शिखरमा पुर्‍याउँछ या पछार्छ पत्तै हुदैन । यस्तै भएको छ अहिले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई ।

सामाजिक सञ्जालमा चर्चमा भाषण दिएको देखि क्रिसमस मनाएका पुराना–पुराना फेसबुक स्ट्याटस भिडियोहरु भाइरल भइरहेका छन् । उनी आफैँ पनि घरी प्रकृति पुजक हुँ भन्दै त घरी हिन्दुधर्म अतिवाद हो भन्दै दिनमा १० ओटा भन्दा बढी त स्ट्याटस नै लेखिरहेका छन् ।

प्रायःजसो तारिफ मात्रै पाउने हर्कको सामाजिक सञ्जाल फेसबुक हेर्ने हो भने उनका स्ट्याटसमा अहिले तरिफ भन्दा बढी आलोचना भइरहेको देख्न सकिन्छ ।

त्यसैगरी, मेयर साम्पाङले तिहारमा लक्ष्मीपुजा गर्नुभन्दा श्रम गर्नु भनेर गरेको पोष्ट र क्रिसमसमा आफ्नै कार्यकक्षमा ख्रिष्टियन समुदायसँग केक काटेको तस्बिर पनि सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ ।

यस्तै, उनले चर्चमा बोलेको भिडियोको क्लिप पनि फेसबुकमा सार्वजनिक भएको छ । भने उनका विरोधी तथा आलोचकहरुले मेयर साम्पाङ ख्रिष्टियन भएकोले मन्दिर अघि चर्च बनाउन दिएको भन्दै निरन्तर कडा आलोचना समेत गरिरहेका छन् । मेयर साम्पाङले आफ्नो बचाउ गर्दै आफूँले पिण्डेश्वरमा पानी चढाएको, हेभन्ली पाथको गुरुसँग बसेको फोटो, भिडियो पनि पोष्ट गनु भनेका छन्।

यस्तै, उनले पदीय मर्यादा भुलेर यो विवादलाई साम्प्रदायिक लेपन पनि लगाउन खोजेको बताएका छन्। उनले फेसबुकमा पोष्ट गर्दै लेखेका छन्,–‘साह्रै धेरै निहुँ खोजे अर्कै कुरा आउँछ है। आदिमबासी मुलबासीहरुसँग निहुँ नखोजेको राम्रो । यो भन्दा बढी बोलिन। यस्तै अर्को पोष्ट गर्दै नमस्कार पनि हिन्दुको सम्बोधन भएकोले अबदेखि सेवा भनुँ त ?’ भन्ने प्रश्न गरेका छन्।

यसपछि पनि उनले हिन्दु धर्मबारे टिप्पणी गर्दै जातीय विभेद र वर्ण व्यवस्था भएकै कारण इसाईहरु बढेको आसयमा अर्को पोष्ट गरेका छन्।‘इसाई बढे भनेर भन्नुभन्दा पनि किन बढे भनेर कारण खोज्नु ! जातीय विभेद पालेर बस्ने कुन धर्म हो ? वर्ण व्यवस्था कुन धर्ममा छ? समय सापेक्ष वदलिन नसके सकिने मेलो आउछ !’ उनले लेखेका छन्।

गोपाल मन्दिर सामुन्ने चर्च बनेपछि असार तेस्रो साता हिन्दुधर्म र ख्रिष्टियन धर्मका अगुवाहरुले मेयर साम्पाङलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउन पुगेका थिए। विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले ऐतिहासिक, पौराणिक महत्वको विजयपुर क्षेत्रबाट उक्त चर्च स्थानान्तरण गराउन र भविष्यमा पनि कुनै चर्चहरु निर्माण हुन नदिन माग गरेको थियो। मन्दिर सामुन्ने चर्च बन्दा भविष्यमा भारतमा जस्तै धार्मिक हिंसा हुने समितिको भनाई थियो।

लगत्तै, धरान ख्रिष्टियन समाजले नेपाल धर्मनिरपेक्ष मुलुक भएको र संविधानले नै धार्मिक स्वतन्त्रताको हक दिएकोले चर्च बनाउन पाउने साथै मन्दिर नजिक हुदैमा धार्मिक सद्भाव खलल नपुग्ने बताएको थियो। ईसाई समुदायका अगुवाहरुले सद्भाव भड्किन नदिन आफुहरु पुर्णरुपमा प्रतिवद्ध रहेको र लिखित सहमति गर्न पनि तयार रहेको बताएका थिए।

तर, मन्दिर पक्षका अगुवाहरुले चर्च स्थानान्तरण हुनुपर्ने मागमा अडान राखेपछि सहमति हुन सकेको थिएन। मेयर साम्पाङले धार्मिक बिषय संवेदनशील भएकोले आफु नबोल्ने भन्दै मिल्न सुझाव दिएका थिए। त्यसपछि पनि हर्क चुप रहेनन् उनले फेसबुक मार्फत विभिन्न टिका टिप्पणी गरिनै रहे।

आफ्ना स्ट्याटसहरुमा प्रशंशा भन्दा बढी आलोचना आउन थालेपछि भने संयमित हुँदै हर्क लेख्छन्–‘ सबै धर्मलाई समान रुपले हेरिने छ ! कसैलाई काखा र कसैलाई पाखा गरिनेछैन ! नगर सरकार धर्मको बारेमा तटस्थ रहन्छ ! मन्दीर र चर्चको विषय न्यायलयले निर्णय गरोस् ! मानिस्को आस्था सङ्ग जोडिएका विषयमा म बोल्दिन! अतिवादीहरु ज्यादतीलाई समाजले मूल्याङ्कन गरिरहेकै छ !’

यो स्ट्याटस लेखिसकेपछि पनि उनको स्ट्याटस लेख्ने क्रम जारी नै छ । सामाजिक सञ्जालमा धेरै अभिव्यक्ति दिने उनको यो बानीले नै कतिपयले त साम्पाङ विहान चियाको साटो पनि स्ट्याटसनै लेख्छन् भनेर व्यांग्यात्मक टिप्पणी पनि गर्छन् । यद्यपी, धराने जनतालाई पानी खुवाउन उनले गरेको कार्य भने साँच्चै नै सराहनीय छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend