काठमाडौं । ट्रायल पास गराएर लाइसेन्स बनाई दिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
ललितपुर महालक्ष्मी– १३ एकान्तकुनाका ३० वर्षीय सम्राट समिर रागब भन्ने राजु परियार र काठमाडौं–१४ कलंकी सुनारगाउँ बस्ने ३६ वर्षीय ब्रम्ह रिसाललाई उक्त ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । हिरासतमा लिइएका रिसाल सुन व्यापारी हुन्।
आफूहरू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताइ लाइसेन्स र ट्रायल पास गराइदिने,प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्यहरू गरिदिन्छु भनी विश्वास दिलाइ पीडितहरूबाट नगद तथा सुनको गहना जबरजस्ती गरी चार लाख तीस हजार बराबरको रकम ठगी गरेको आरोपमा उनीहरुमा लगाइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले परियार लुभुबाट र ठगी गरी लिएको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक रिसाललाई कालीमाटीबाट पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार ठगीसम्बन्धी कसुरमा आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ ।