काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सात हजार रुपैयाँ जरिवाना तिरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन निर्धारित समयभन्दा ढिलागरी पेस गरेको भन्दै निर्वाचन आयोगले जरिवाना तोकेको थियो ।
गत १ साउनमा आयोगले जरिवाना लगाएकोमा नेसपाले ७ साउनमा जरिवानाबापतको रकम बुझाएको आयोगले जनाएको छ ।
त्यसैगरी, बहुजन शक्ति पार्टीले पनि सात हजार जरिवाना बुझाएको छ । बहुजनले लेखापरीक्षण प्रतिवेदन बुझाए पनि १ महिनाभित्र सार्वजनिक नगरेपछि जरिवाना तिर्नु परेको हो ।
लेखापरीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने ८१ दललाई गत १ साउनमा आयोगले कारबाहीको सूचना जारी गरेको थियो ।