माघ १९ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं प्रतिनिधिसभा सांसद भीम रावलले एमसीसीका समर्थकलाई इन्डो-प्यासेफिक रणनीतिको अंग होइन भनि प्रमाणित गर्न चुनौती दिएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आफ्ना कुरा राख्दै रावलले एमसीसी इन्डो-प्यासेफिक रणनीतिकै अंगका रुपमा ल्याइएको बताए।
बैठकमा उनले भने, मिलिनियम च्यालेन्ज भनेको इन्डोप्यासेफिक स्ट्राटेजीको अंग हो । र, इन्डो प्यासिफिक स्ट्राटेजी भनेको चीन, रुस र कोरियाको विरुद्धमा संघर्ष गर्नका लागि ल्याइएको हो ।’
उनले एमसीसीको समर्थन गर्दै गर्दा इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट राम्रोसंग अध्यन गर्न समर्थकलाई आग्रह गरे। केही मानिसहरुले एमसीसीको विषयलाई प्रतिष्ठाको विषय बनाउने, राष्ट्रिय हित र स्वार्थभन्दा आफ्ना निजी धारणाहरुलाई राख्ने गरेको भन्दै उनले त्योबाट मुक्त भएर राष्ट्रिय दृष्टिकोणका साथ अगाडि बढ्न सुझाव दिए।
अमेरिकी मन्त्रीले पनि एमसीसीबारे बोलिसकेकाले असंलग्न परराष्ट्र नीति र तटस्थ सैन्य रणनीति लिएर हिँडेको नेपालले इन्डो प्यासिफिकको अंग अन्तरगतको परियोजनामा जानजान फस्न नहुने उनले बताउँदै आएका छन्।
पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल लगाएतले एमसीसी पारित गर्नुपर्ने बताउँदै आएका छन् भने नेकपाका कतिपय सांसद तथा नेताहरुले यसलाई हुबहु पास गर्न नहुने बताएका छन्। जुन विषयले जारी नेकपाको केन्द्रिय समितिको बैठकमा पनि चर्चा पाएको छ।