काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्ने कार्य गरे सरकारको दिनगन्ती सुरु हुने उनले चेतावनी दिए ।
संसदको बुधबार बसेको बैठकमा समय लिएर बोल्दै रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनी प्रश्न गरे ।
‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला । भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्याउँथ्यो होला नि, मालिकलाई नै कर्याप झ्याप पार्न सकिन्थ्यो होला नि त? किन गरिएन ?’ सुन तस्करी सेटिङमा भइरहेको भन्दै उनले भने ।
यो प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै उनले यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे । डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै उनले गम्भीर हुन अनुरोध गरे ।