काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले नैतिकताको आधारमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा गर्नुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधसभाको बैठकमा बोल्दै गैरेले सुन तस्करी प्रकरणमा सत्यतथ्य छानविन सम्पन्न नभएसम्मका लागि विमानस्थलमा सुरक्षा र भन्सारको जिम्मा पाएकाहरुले सुन समात्न नसक्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा आइसक्नुपर्ने बताए।
‘सुन बरामद भइसकेपछि गृहमन्त्रीले पद छाड्नुपर्थ्यो। अर्थमन्त्रीले पनि हाम्रो निकायले सुन पक्रिन सकेन अनि पदमा बस्दिन भन्नुपर्थ्यो । नैतिक रुपमा अर्थमन्त्री र गृहमन्त्री भइरहन मिल्छ ? आदर्शको कुरा गर्नेले त्यो आदर्शको पालना गर्नुपर्छ कि पर्दैन ?’ उनले भने ।