logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पनौतीबाट पुन: कपनमा नै फर्के रोहिंगा शरणार्थी

    पनौतीबाट पुन: कपनमा नै फर्के रोहिंगा शरणार्थी

    1.4K
    Shares

    माघ २२ काठमाडौं – कामको खोजीमा करिब साढे दुई महिनाअगाडि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिंगा परिवार मंगलबार पुनः काठमाडौँस्थित कपनमा नै फर्किएका छन्।

    स्थानीयवासी सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका सो समुदायका १० परिवारका करीब ३४ जना पुनः मंगलबारदेखि कुशादेवी छोडेर कपन फर्केको वडा नं ३ का वडाध्यक्ष ईश्वर थापाले बताए।

    एक हप्ता अगाडीदेखि नै जानका लागि सामानहरु ओसार्ने क्रममा रहेका उनीहरु आज सबै परिवार फर्किएको वडाध्यक्ष थापाले बताए। कपनमा बस्दै आएका ती समुदाय त्यहाँका जग्गाको भाडा सम्झौता सकेपछि विकल्प खोज्दै यता आएको पाइएको र अहिले फेरि उतै फर्केर गएको उनले बताए।

    इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले ३४ मध्ये १७ जना १८ गते शनिबारदेखि नै कपनको लसुनटार भन्ने स्थानमा गएको बताए। बाँकी रहेकामध्ये सातजना सोमबार गएको र बाँकी १० जना मङ्गलबार गएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए। अब त्यो ठाउँमा रोहिंगा समुदायको कोही पनि व्यक्ति बसोबास नरहेको उनले बताए।

    ती समुदायका दश परिवारको ३४ जनामा १ देखि ६२ वर्षसम्मका व्यक्ति रहेको र जसमा १३ साना बालबालिका र आठ महिला रहेको प्रहरीले जनाएको छ। त्यसरी आएका रोहिंगा कुशादेवी आसपासमा कामको खोजी गर्दै जीविकोपार्जन गर्दै आएका थिए। ती परिवारका पुरुष व्यक्तिहरु दैनिक गुजारा चलाउन काम खोज्ने र श्रम गर्ने रहेको तथा महिला घरको काम गर्ने र परिवार हेरचाह गर्ने गर्दै आएका थिए।

    शुरुमा १४० जनाको संख्यामा हुने भन्दै टहरा बनाउन थालेका उनीहरुले पछि ३४ जना मात्रै हुने भन्दै बनाएको टहरा भत्काएर ११ वटा टहरामा बस्दै आएका थिए। रोहिंगा समुदायका नुर हप्पिसका अनुसार बनाएको टहराका परिवारअनुसार स्वयंले भाडा तिर्नेगरी बस्दै आएकामा पछिल्लो समय उतै फर्केको हो। नयाँ मान्छेहरु आएपछि सशंकित बनेका त्यहाँका स्थानीय बासिन्दालाई उनीहरुले आफूहरु परिश्रम गरेर खाने मान्छे भएका कारण सशङ्कित नहुन आग्रह गरेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend