माघ २२ काठमाडौं- कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको पहिलो खेलमा ओमानसंग नेपाल १८ रनले पराजित भएको छ। ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६.५ ओभरमा १७९ रन बनाउदै सबै विकेट गुमाउन पुग्यो।
लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सुरुवात राम्रो हुन सकेन। कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का सस्तैमा आउट भएपछी नेपाललाई सुरुवातमै दवाव बढेको थियो। मध्यक्रमका ब्याट्सम्यान शरद भेस्वाकर, दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारीले उत्कृष्ट पारी खेल्दै क्रमश: ५५, ३६ र २६ रन बनाए।
सन्दीप लामिछानेले पनि २८ रनको उत्कृष्ट पारी खेलेका थिए।
टस हारेर व्याटिंगको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको थियो।
ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेलेका थिए । उनले ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए ।
बलिङतर्फ नेपालका सुशन भारीले १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिए । करण केसीले चार विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे। सन्दीप लामिछाने भने विकेटविहिन रहे।
लिग-२ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरूप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २-२ पटक प्रतिस्पर्धा गर्दैछन्। जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्।