काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन् ।
सोमवार एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित रुपमा हुनुपर्ने बताएका हुन् ।
उनले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरुप सजिलो ठाउँमा र अरुलाई दण्डित गरेजस्तो अफ्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको भन्दै सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, निजामती सेवालाई पूर्वअनुमान योग्य पनि बनाउनुपर्ने बताए । सरुवालाई स्वचालित प्रणालीमा नल्याएसम्म यो विषय सबैको चिन्ताको विषय हुने उनको भनाई छ ।
उनले भने– ‘यो मागिखाने भाँडोजस्तो भएको छ । यो सिस्टममा नल्याएसम्म, सिस्टममा नढालेसम्म, स्वचालित नबनाएसम्म यो सबैको टेन्सनको विषय नै हुन्छ । दण्ड र पुरस्कारको रुपमा अथवा कसैलाई दुःख दिनुप¥यो, सजाय दिनुपर्यो भने अफ्ठ्यारो ठाउँ पठाउने । कोही लाइक माइन्डेड छ भने त्यसलाई सजिलो ठाउँ ल्याउने । पुरस्कृत गर्ने र दण्डित गर्ने प्रक्रियाको रुपमा सरुवा प्रणाली लागू भएको जस्तो देखिन्छ । त्यसैले यो सिस्टममा जानु, स्वचालित गर्नुपर्छ । कमसेकम पहिले नै अनुमान गर्न सकिने हुनुपर्छ । मान्छेले अनुमान गरेर ढुक्कले बसोस् । स्वचालित सिस्टममा जानुको विकल्प छैन । हामी त्यहाँ जानुपर्छ । हामी त्यहाँ जान्छौँ । अब चाहीँ नयाँ ढंगले सोच्नुपर्छ । यसमा मेरो तर्फबाट निकै धेरै प्रयास हुन्छ ।’
उनले संसदको यही अधिवेशनमा संघीय निजामती ऐन ल्याउने तयारीमा सरकार लागेको पनि बताए ।