प्रकृति भाट,
काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा आइतबार काठमाडौँस्थित ठमेलको होटेल भियानाबाट पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर नागरीकता लिएको तथ्य सार्वजनिक भएको छ । उनले लिएको नागरिकता पनि वडाको सिफारिस बिना नै बनेको खुलासा भएको छ ।
दावाले काभ्रेबाट वि. सं. २०७४ पुष २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकतामा नमोबुद्ध नगरपालिका ११ नम्बर वडा ठेगाना उल्लेख छ । एक वर्षअघि सीआईबीको टोली निमा तामाङको बारेमा अनुसन्धान गर्न काभ्रेपलाञ्चोक गएको थियो । तर, वडाबाट निमा तामाङलाई नागरिकता बनाउन सिफारिस नै नगरेको विवरण फेला परेको थियो । २०७४ सालमै राहदानीसमेत लिएका उनी नक्कली नेपाली हुन् । यसरी दावाले नेपालबाटै नागरिकता लिएर अपराधको सञ्जाल विस्तार गर्दै गएको पाइन्छ । उनको अपराध सञ्जालमा माओवादी नेताहरूको साथ रहेको खुलेको छ ।
सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर हेर्दा उनी र केही उच्च स्तरका नेताहरुको राजनीतिक कनेक्सन कडा देखिएको छ । त्यही आधारमा उनले नागरीकता लिएको हुन सक्ने बलियो आधार देखिन्छ ।
२०७४ सालमा रोल्पाकी अमला रोकासँग दावाले वैवाहिक सम्बन्ध गाँसेका थिए । त्यसपछि बिस्तारै उनी रोल्पाली माओवादी नेतासँग नजिकिए भएको देखिन्छ । ठमेलको होटेल भियानाबाट जहाँबाट उनी पक्राउ परेका थिए सो होटेल दावाले आफनी श्रीमति अमलाका नाममा खोलेका थिए । होटेल भियाना माओवादी केन्द्रका नेता–कार्यकर्ताहरूको जमघट गर्ने केन्द्र पनि हो ।
यसरी दावाले रोल्पाली नेताहरूसँग राम्रो सम्बन्ध बनाएर निरन्तर विभिन्न अपराध कर्म गरिरहेको देखिन्छ। त्यसो त अहिलेको सय किलो सुनमा रोल्पाका माओवादी नेताहरूसमेत अघोषित रूपमा मुछिएका छन् ।
नत्र अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने र ‘लोन’एपमार्फत अवैध असुली गर्ने कार्यमा संलग्न रहँदै आएका उनी माओवादी नेताको साथ नपाएको भए पाँच वर्षअघि नै कानुनको फन्दामा परिसक्थे । तर तत्कालीन नेकपामा शक्तिशाली नेताहरूले उनलाई प्रहरीको नियन्त्रणमा पर्नबाट जोगाएका थिए । दावाको अपराध २०७६ सालमै खुले पनि प्रहरीले उनलाई छुन सकेको थिएन।
दावाको राजनीतिक कनेक्सन विशेषगरी वर्तमान सत्तारूढ दल माओवादीका नेताहरूसँग रहेको देखिएको छ । अहिलेको सुन प्रकरणमा उनले माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क गरे नगरेको विषय माथि अनुसन्धान हुँदैछ । तर, प्रमाणित भने भएको छैन । सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्विरहरु हेर्ने हो भने विगतमा दावाको कनेक्सन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ ।
केही दिनअघि चिनियाँ नागरिक दाओजिन वाङले पनि ९ किलो सुन छुटाउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा प्रयोग गरेको समाचार सेलाउन नपाउँदै माओवादी नेताहरूको सम्पर्कमा रहेका दावा पक्राउ पर्नुलाई संयोग मात्र मान्न कदापि सकिदैन ।
त्यसो त कनेक्सन माथि सम्मै देखिएकाले सय किलो सुन प्रकरण यत्तिकै सेलाउन सक्ने आशंका गर्ने ठाउँ प्रसस्त छ । किनभने विगतमा राजनीतिक पहुँचकै आधारमा सेलाउने गरेका प्रसस्त प्रकरणहरु छन् । त्यसमाथि प्रहरीको प्रतिवेदनमा उल्लेख भएका व्यक्तिलाई अहिलेसम्म बयानसमेत लिइएको छैन । बयान लिएकाहरु पनि उच्चस्तरीय नेताहरुको बारेमाबरु ढुनगा बोल्ला तिनीहरु बोल्दैनन् । यदी अवस्था यस्तै रह्यो भने सय किलो सुनको अनुसन्धान पनि हात्ति आयो हात्ति आयो फुस्सा जस्तै नहोला भन्न सकिदैन ।