काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उनले सन्यासको घोषणा गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाएर एउटा पृथक यात्राको आरम्भ गर्ने निर्णय लिएको जनाएका छन् । पत्रकार सम्मेलनमा उनले घरेलु क्रिकेट समेत नखेल्ने बताए ।
सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल यात्रा थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेको हरारे खेलमैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलाएका थिए ।
ज्ञानेन्द्रले नेपालको तर्फबाट ३७ वटा एकदिवसीय र ४५ वटा टी–२० क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।