पाल्पा । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला जन्मथलो पाल्पामा पुरस्कृत भएका छन् ।
नेपाल औषधि व्यवसायी संघ पाल्पाले सातौं साधारणसभाका अवसरमा शनिबार ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ डा.कोइरालालाई प्रदान गरेको हो ।
डा. कोइरालालाई नगदसहित दोसल्ला, पाल्पाली ढाकाटोपी र सम्मानपत्रले प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, नारायण आचार्य, औषधि व्यवसायी संघका अध्यक्ष विष्णु केसी, लुम्बिनी प्रदेसभा सदस्य वीरबहादुर राना र खेम सारुले सम्मान एवं पुरस्कृत गरेका हुन् ।
कार्डियोथोरासिक सर्जन, प्राध्यापक एवं सामाजिक अभियन्ता डा. कोइरालालाई सोही अवसरमा औषधि व्यवसायी संघको रामपुर क्षेत्रले समेत सम्मान गरेको छ । पाल्पाको बगनासकाली गाउँपालिका–५, दर्लमडाँडामा जन्मेका डा. कोइरालालाई ओपन हर्ट सर्जरीको मुख्य श्रेय दिइन्छ ।
पाल्पाको पद्य पब्लिक नमुना माविबाट एसएलसी दिएका उनले विभिन्न प्रसिद्ध पुरस्कार, पदक तथा सम्मान यसअघि नै प्राप्त गरिसकेका छन् ।