काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक बैंकिङ विभाग, बालुवाटारमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्युआर कोडसेवा सञ्चालनमा ल्याएको छ।
विदेशी मुद्रा सटही गर्न चाहने ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो।
उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरी आइतबारदेखि सुरुवात गरेका हुन्।
उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरूले क्युआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्नेछन्।
जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको भनाइ छ।
यस बाहेक फरक–फरक माध्यमहरूमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन बैंक सधैं तत्पर रहेको जनाइएको छ ।