काठमाडौँ । अहिले बजारमा गोलभेँडाको मूल्य छोइनसक्नु छ । अहिले गोलभेंडाको होलसेल भाउ नै ७० देखि १ सय ८० रुपैयाँसम्म छ ।
गोलभेँडा फालेर आनदोलन गरेको डेढ महिनाकै अवधिमा टनेलको गोलभेंडा ९ सय १६.७, गोलभेंडा ठूलो ३ सय ८०.९४ र गोलभेंडा सानो गोलभेँडा ११ सय ९३ प्रतिशतले बढेको छ ।
गत असार १ मा सानो गोलभेंडाको मूल्य प्रतिकिलो १० रुपैयाँ थियो । साउन २१ सम्म आइपुग्दा अधिकतम मूल्य १ सय १० र औसत मूल्य १ सय १ रुपैयाँ ६७ पैसा पुगेको छ ।
असार १ मा गोलभेंडा ठूलोको होलसेल मूल्य ३५ रुपैयाँ थियो, साउन २१ मा आइपुग्दा अधिकतम मूल्य १ सय ८० र औसत मूल्य १ सय ६८.३३ रुपैयाँ पुगेको छ ।
असार १ मा प्रतिकिलो ५ रुपैयाँ ८० पैसा मूल्य रहेको सानो गोलभेंडा अहिले अधिकम मूल्य ८० र औसत मूल्य ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
होलसेलमै मूल्य अचाक्ली बढेपछि खुद्रामा पनि सोहीअनुसार मनलाग्दी मूल्य राखिएको छ । ठाउँअनुसार मूल्य फरक–फरक तोकिएको छ ।
आखिर यसरी किन बढ्यो त गोलभेँडाको मूल्य ?
गत असार ३ मा मूल्य नपाएको भन्दै किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा ट्रकका ट्रक गोलभेंडा फालेर आन्दोलन गरेको थियो ।
अहिले महँगो बनाउनकै लागि केही व्यापारीले यति ठूलो परिमाणमा गोलभेंडा फालका हुनसक्ने आँकलन पहिले नै गरिएको थियो । त्यो अहिले आकासिएको गोलभेडाको मूल्यले पुष्टि पनि गरेको छ ।
त्यतिबेला कालीमाटी तरकारी बजारमा टनेल गोलभेंडाको न्यूनतम मूल्य ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ थियो । लागत नउठेको भन्दै केही ठूला किसानले गोलभेंडा फालेर विरोध गरेका थिए । विरोधस्वरूप उनीहरूले ३ दिनसम्म उत्पादन बजारमै पठाएनन् । त्यसपछि उकालो लाग्न थालेको गोलभेंडाको मूल्य अहिले छोइनसक्नु भएको छ ।
त्यस्तै भारतमा महँगी र दोस्रो अहिलेको अफसिजन हो । अहिले टनेल प्रविधिको गोलभेंडा मात्रै बजारमा छ । भारतमा गोलभेंडाको माग पनि अत्यधिक छ । त्यहाँ उत्पादन घटेपछि मूल्य अस्वाभाविक भएको छ ।
अहिले भारतमा प्रतिकिलो भारु ३ सयमा कारोबार भइरहेको छ ।अन्य ठाउँमा त्योभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । यसरी भारतमा आकर्षक मूल्य पाउँदा नेपाली व्यवसायीले पनि गोलभेंडा भारत पठाएका छन् । यसले पनि नेपाली बजारमा मूल्य बढ्न बढेको छ ।