माघ २६ काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पुर्वमन्त्री प्रभु शाहले बालुवाटार जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पनि कारबाही गर्नुपर्ने बताएका छन्। प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हाँस्यास्पद रहेको उनको धारणा छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कार्यकारी सर्वाधिकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सहि वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट भएपनि ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष हुनु न्यायोचित नभएको बताए।
फेसबुकमा उनले लेखेका छन्, “कार्यकारी सर्वाधिकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सहि वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट छ । तर ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ । प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ?
यदि संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन । हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो । ‘सानालाई ऐन, ठुल्लालाई चयन’ कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन् सक्दैन । तसर्थ यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरूरी छ ।