काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर–४ को खेल रिजर्भ डेमा पनि वर्षाले प्रभावित बनाउने खतरा बढेको छ। सुपर–४ अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण २४.१ ओभरमा भारतले १ सय ४७ रन बनाउँदा रोकिएको थियो। यदि वर्षाका कारण आज पनि खेल सम्भव नभए दुबै टिमले १–१ अङ्क बाँड्नु पर्नेछ।
सोमबार ३ः१५ बाट सुरु हुनु पर्ने खेल वर्षाका कारण सुरु हुन सकेको छैन। कोलम्बोमा सोमबार बिहानैबाट वर्षा रोकिँदै पर्दै गरेपछि मैदान गिलो भएको छ। अहिले वर्षा रोकिए पनि खेल सुरु भएको छैन।
यद्यपि, मौसम विज्ञान विभागले सोमबार पनि शतप्रतिशत वर्षाको सम्भावना रहेको जनाएको छ। योसँगै भारत पाकिस्तानबीचको खेलले पूर्णता नपाउने सम्भावना बढेको छ।
यदि खेल सुरु भएको खण्डमा आइतबार जुन अवस्थामा रोकिएको छ, त्यही अवस्थाबाट सुरु हुनेछ। भारतले २४।१ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।