
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राखेकी छन् ।
जापानको टोकियोमा ‘द फाउण्डेशन अफ द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल’ले आयोजना गरेको एसियास्तरीय सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट सम्बोधन गर्दै सांसद डा राणाले जलवायु परिवर्तनले पारेको असर कम गर्न जडीबुटी प्रशोधनका लागि आधुनिक प्रविधिका साथै उनीहरुद्वारा उत्पादित परम्परागत औषधिजन्य वस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहनुभएका डा राणाले जलवायु परिवर्तन विश्वको मुद्दा मात्रै नभइ नेपालका लागि ठूलो समस्या समेत भएको बताए । उनले भनिन् “जलवायु परिवर्तनको असरबाट असुरक्षित बनेका मुलुकमा नेपाल चौथो स्थानमा रहेको छ । मौसमी तथा बेमौसमी भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो र बाढीले यहाँको जनजीवनमा ठूलो समस्या सिर्जना गरेको छ ।”
जर्मन वाच क्लाइमेट रिस्क इन्डेक्स २०२० का अनुसार सन् १९९९ देखि २०१८ सम्म जलवायु परिर्वतनको असरबाट सबैभन्दा बढी असर पार्ने मुलुकको सूचीमा नेपाल नवौँ स्थानमा रहेको उनको भनाइ छ ।
नेपाल सरकार जलवायु तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम सन् १९७१ देखि २०१४ सम्म वार्षिक औसत शुन्य दशमलव ०५६ डिग्री सेल्सियसले बढेको छ । सन् १९३५ देखि १९९१ को अवधिमा १५ वटा हिमताल बिस्फोट भएका छन् भने हालसम्म २१ वटा हिमताललाई जोखिमको सूचीमा राखिएको छ ।
सन् २०१८ मा विभिन्न स्थानमा गएका पहिराका कारण करिब रु ७० अर्ब बराबरको क्षति हुनुका साथै हजारौँको घर, खेतीयोग्य जमिन र सडकमा क्षति पुगेको छ । वैज्ञानिकहरुले समेत बढ्दो तापक्रमले हिमाली क्षेत्रमा मलेरिया, डेङ्गुलगायतका रोगको जोखिम बढेको उहाँको भनाइ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend