काठमाडौँ । पूर्वी लिबियामा आएको बाढीमा परी कम्तिमा ५ हजार तीन सय जनाको मृत्यु भएको छ। बाढीबाट १० हजारभन्दा बढी बेपत्ता भएका छन् भने ३० हजार बढी विस्थापित भएको आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय संगठन (आईओएम)ले जनाएको छ।
लिबियाको पूर्वी प्रशासनका मन्त्री हिशाम चकियोतले समुद्रबाट दर्जनौं शवहरू किनारा लागिरहेको बताएका छन्। जसका कारण मर्नेहरूको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ।
लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा पूर्वी सहर डेर्नामा मात्र ५ हजार बढीको मृत्यु भएको आशंका गरेका छन्। दुई वटा नदीका बाँध भत्किँदा ठूलो हताहती भएको अधिकारीहरूको भनाइ छ। बाँध भत्केपछि गाउँ र सहर बाढी पसेको थियो।
पूर्वी सहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण विस्थापित भएका छन् भने नजिकैका अन्य सहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्, आईओएमले विज्ञप्ति जारी गर्दै भनेको छ।
बाढीले अक्रान्त बनाएपछि मानवीय सहायताका लागि अपील गरिएको छ। युरोपेली संघले जर्मनी, रोमानिया र फिनल्याण्डको सहयोग लिबिया पठाएको जनाएको छ। युरोपेली आयोगले यो सहायता विनाशकारी सहर डेर्नासम्म पुग्ने क्रममा रहेको र सहायता जुटाउन आफ्नो नागरिक सुरक्षा संयन्त्रलाई औपचारिक रूपमा सक्रिय बनाएको जनाएको छ।
लिबियाका अधिकारीहरूले मंगलबार औपचारिकरूपमा सहयोगका लागि अनुरोध गरेपछि यो कदम चालिएको हो। इयूका तीन सदस्य राष्ट्रबाट प्राप्त हुने सहायतामा ‘टेन्ट, फिल्ड बेड र कम्बल, ८० वटा जेनेरेटर, खाद्य सामग्रीका साथै अस्पतालका टेन्ट र पानीट्यांकी’ रहेका छन्।
इयूको सङ्कट व्यवस्थापन आयोग जेनेज लेनार्किकका अनुसार इयूले आपतकालीन कोषका लागि प्रारम्भिक पाँच लाख युरो (पाँच लाख ३५ हजार अमेरिकी डलर) निकासा गरेको छ।