
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट भएको छ। बिहीबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा माग अनुसार आवेदन परेकोले धितोपत्र निष्कास तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथामार्फत बाँडफाँट भएको छ । जसअनुसार ९ लाख जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
कम्पनीले १५ भदौदेखि १९ भदौसम्म आईपीओको लागि आवेदन खुलाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता कुल २४४ रुपैयाँमा सेयर आईपीओ निष्कासन गरेको हो ।
कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
जसमध्ये ५ प्रतिशतले हुने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरेको थियो ।
त्यस्तै, कम्पनीले बाँकी सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुने ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ९० लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको थियो । सोही सेयरमध्ये योग्य आवेदकहरुमध्ये गोलाप्रथाबाट ९ लाख जनालाई १० कित्ताको दरले बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएकोमा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
यस्तै १४ लाख ७ हजार २३७ आवेदकको आवेदन स्वीकृत भएकोमा सोहीमध्ये गोलाप्रथामा सहभागी गराएर ९ लाख जना आवेदकले १० कित्ता सेयर प्रापत गरेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend