logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा

    संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा

    588
    Shares
    संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गरेका छन् ।

    संविधान दिवसको शुभकामना व्यक्त गर्दै उनले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताए । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको उल्लेख गरेका छन्।

    सभापति देउवाले ऐतिहासिक जननिर्वाचित संविधानसभामार्फत संविधान निर्माण भई जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले भनेका छन् – “नयाँ संविधानअनुसार विभिन्न ऐन÷कानुन निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयनतर्फ अघि बढेको छ । नयाँ संविधानअनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षाअनुसारको काम गर्न अग्रसर देखिएका छन् ।”

    संवैधानिक अभ्यासमा भएका कमीकमजोरी सच्याउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै सभापति देउवाले सबै राजनीतिक दल, नागरिक समाज, निजीक्षेत्र र विभिन्न पेशाकर्मीको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशका रुपमा अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताए ।

    विसं २००७ देखि सुरु भएको विभिन्न चरणका राजनीतिक सङ्घर्ष र प्रातः स्मरणीय सहिदको बलिदानको उपलब्धिका रुपमा संविधान सभामार्फत संविधान जारी भएको बताउँदै उनले संविधानको सफल कार्यान्वयन गरेर जनतालाई न्याय, सुशासन, समानता, सुख एवं समृद्धिसहितको समुन्नत मुलुक बनाउन सबैले एकआपसमा हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

    सभापति देउवाले मुलुकलाई केही वर्षमा नै समुन्नत मुलुकका रुपमा अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भएको बताउँदै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा समुन्नत मुलुक बनाउने अभियानमा सबैलाई एकताबद्ध भएर सहभागी हुन अनुरोध गरे ।

    उनले संविधान दिवसका अवसरमा विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाइ गरेका अग्रज नेता, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिद, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकलगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend