काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन् ।
बुधवार काठमाडौंको नक्शालको नारायण चौरमा पार्टीले आयोजना गरेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले देखावटी रुपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउनु नहुने बताए । उनले सरकारले सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरु सरकारले गर्नु नहुने बताए । उनले संविधान दिवस नेपाली जनताको साझा दिवस भएको पनि बताए । उनले उपलब्धिहरुलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापहरु देखिने गरेको भन्दै त्यस्ता क्रियाकलापप्रति दुःख व्यक्त गरे । उनले जनताको एकता, उन्नतिका लागि विभाजनकारी प्रवृत्ति, जनतामा खटपट ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पु¥याउने प्रवृत्ति, क्षेत्रिय, साम्प्रदायिक, जातियतावादी अथवा विभिन्न आस्थाका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरु राष्ट्रिय एकताको पक्षमा नरहेको जिकिर गरे ।
सरकारी दिवस नभइ सरकार र नेपाली जनताको दिवस भएको उल्लेख गरे । उनले संविधानको प्रभावकारी कार्यान्वनय गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताए । नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौं नक्शालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।