काठमाडौँ । शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप लागेको छ । तीन दिनअघि दक्षिणकाली नगरपालिका–२ मा सवारी दुर्घटना गराएका हुन् । मन्त्री पुत्र राहुल रायले चलाएको बि.एबी. ७३८५ नम्बरको स्कोर्पियोले कार र मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहान ४ बजे बल्खुतर्फ आउँदै गरेका रायले मन्त्रालयबाट जारी ‘हल्का सवारी चालक’को परिचयपत्र देखाएको स्रोतले बतायो । उनले चलाएको स्कोर्पियोको ठक्करबाट चार जना सामान्य घाइते भएको बताइएको छ ।
मन्त्री पुत्र रायले मादक पदार्थ सेवन गरेका थिए । तर, उनलाई मापसे गरेको कसुरमा कुनै कारबाही भएन । दुर्घटनापछि विवाद हुँदा रायले ‘एपल साइडर’ पिएको स्वीकारेका थिए ।
प्रहरी प्रभाग फर्पिङले एक रातका लागि उनको गाडी होल्ड गरेको थियो । भोलिपल्ट दुवै पक्षले आ–आफ्नो सवारी साधन आफैँले बनाउने सहमति गरेको बिताइएको छ ।