काठमाडौँ । इराकमा एउटा वैवाहिक कार्यक्रम भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा एक सयजनाको मृत्यु र एक सय ५० भन्दा बढी घाइते भएका छन्। इराकको सरकारी सञ्चारमाध्यमका अनुसार इराकको उत्तरी क्षेत्रमा पर्ने उत्तरी निनेभ प्रान्तमा पर्ने अल–हम्दानिया जिल्लामा मंगलबार राति अबेर आगलागी भएको बिबिसीले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्।
मंगलबार राति पौने ११ बजेतिर आगलागी हुँदा सयौं मानिस वैवाहिक समारोहमा उत्सव मनाइरहेको प्रत्यक्षदर्शीले बताएका छन्। वैवाहिक कार्यक्रममा गरिएको आतसबाजीका कारण आगो फैलिएको अनुमान छ। भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्ज्वलनशील भएकाले आगो फैलिएको हुन सक्ने बताइएको छ। आगलागीपश्चात् हलको छतको केही भाग खसेको थियो। इराकको गृह मन्त्रालयका अनुसार भवनमा काम गर्ने नौजना पक्राउ परेका छन् भने अन्य चारजनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
इराकको नागरिक रक्षा निर्देशनालयका अधिकारीलाई उधृत गर्दै निनाले लेखेको छ, ‘कार्यक्रम हल बनाउन कम खर्चिला सामग्री प्रयोग गरिएको र त्यो छिटै जल्न सक्ने भएका कारण हलको केही भाग केही मिनेटमै ढल्यो र आगो तीव्र गतिमा फैलियो।’
‘आगोको मुस्लो बाहिर निस्किरहेको हामीले देख्यौं। जो बाहिर निस्किन सके, निस्किए, जो सकेनन् उनीहरू फसे। जो बाहिर निस्किन सके उनीहरू पनि घाइते थिए’, हलबाट बाहिर निस्किन सफल ३४ वर्षीया योहानाले समाचार संस्था रोएटर्ससँग बताइन्।
घाइतेहरूलाई निनेभ क्षेत्रका अस्पतालहरूमा पुर्याइएको उक्त क्षेत्रका गभर्नरले बताएका छन्।हम्दानियामा रहेका प्रमुख अस्पतालमा घाइतेलाई सहयोग गर्न कयौं मानिस रक्तदान गर्न पुगेको बिबिसीले जनाएको छ।