काठमाडौं । एसिया प्यासेफिक मोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार खेलाडीले सहभागीता जनाउने भएका छन् ।
आगामी शनिबार र आईतबार मलेसियामा हुने एसियाली स्तरको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउने भएका हुन् ।
विभिन्न पाँच विधामा हुन लागेको प्रतियोगितामा नेपालबाट वर्षा बस्नेत, अमनकुमार चौधरी, अमरज्योती रञ्जित र आशिष भारतले सहभागीता जनाउने छन् । सिताराम न्यौपाने टिम म्यानेजरको रुपमा नेपाली टिममा सहभागी छन् ।
ओलम्पिक ढाचाको मोटरस्पोर्ट्सको पहिलो एसिया प्यासिफिक च्याम्पियनसिपमा कार्टिङ स्प्रिन्ट, र्याली, इ स्पोर्ट्स, कार्टिङ स्लालम र अटो जिमखाना गरि ५ विधा समावेश गरिएको छ ।
नेपालबाट कार्टिङ स्लालम कपमा बर्षा बस्नेत र अमनकुमार चौधरी तथा अटोजिमखानामा अमरज्योती रञ्जित र आशिष भारतीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा १८ देशका १ सय ७० खेलाडीले सहभागीताका लागि नाम दर्ता गराएका छन् ।
प्रतियोगितामा सहभागी हुने दर्ता शुल्क, यातायात, होटल, गेयर र ग्याजेट गरि करिब १६ लाख रुपैयाँ खर्च हुने नासा नेपालले जनाएको छ । प्रतियोगितामा लाग्ने खर्च नासा नेपालको आन्तरिक श्रोत र खेलाडीबाट ब्यवस्थापन गरिएको नासा नेपालले जनाएको छ ।
नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले अटो जिमखानामा राम्रो प्रर्दशनको अपेक्षा गरिएको बताए । ‘पुराना रेकर्डका आधारमा अटो जिमखानामा पदक आउने अपेक्षा गरेका छौं ।’ भट्टराईले भने, ‘हाम्रो स्तरको मोटर स्पोर्ट्समा बल्ल प्रवेश गरेका छौं । ओलम्पिक ढाचाको एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगितामा खेलाडी सहभागी भएका छने । यस सहभागीतालाई वृद्धि गर्दै लैजाने छौं ।’
कार्यकारी निर्देशक भट्टराईले प्रतियोगितामा सहभागी खेलाडी नेपाल फर्किएर प्रशिक्षकको रुपमा काम गर्ने अपेक्षा गरेको बताए ।