
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।
अनेकौँ प्रतिकुलताका हासिल गरेको सफलताले नेपालको राष्ट्रिय गौरव बढाएको शाहले बताएका हुन् ।
शुभकामना सन्देशमा शाहले लेखेका छन्, ‘मित्रराष्ट्र चाइनाको हाङ्झाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले मङ्गोलियासँग खेलेको टी–२० क्रिकेट खेलमा नेपाली क्रिकेट टिम र खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाई अत्यन्तै खुसी तुल्याएको छ । देशको राष्ट्रिय पहिचानले अनेकौँ चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौँ प्रतिकुलताका बावजुद जुन सफलता हासिल गरेका छन् यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौँ । विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाई यो सफलताको लागि हार्दिक बढाई तथा शुभकामना ।’
गत असोज १० गते एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको थियो । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो ।
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए । उनले सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका थिए । बायाँहाते ब्याट्सम्यान कुशलले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमै सर्वाधिक छिटो शतक बनाए । उनले केवल ३४ बलमा शतक पुरा गरेका हुन् ।
यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले केवल ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लरले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका हुन् ।
यसैगरी दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका थिए । ऐरीले केवल नौ बलमा अर्धशतक बनाएका थिए । उनले अविजित ५२ रन बनाएका थिए । उनले १० बलाको सामना गरी आठ छक्का पनि प्रहार गरेका थिए ।
यसअघि, भारतका ब्याट्सम्यान युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले युवराज सिंहको त्यही कीर्तिमान तोडेका थिए । नेपालका लागि अर्का ब्याट्सम्यान रोहित पौडेलले पनि ६१ रन बनाए । उनले केवल २७ बलको सामना गरी ६ छक्का र दुई चौका हिर्काए । उनी नेपाली टोलीका कप्तान पनि हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend