काठमाडौँ । सुदूरपश्चिम सरकारले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गरेको छ ।
शनिवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्ने गरी एक करोड रुपैयाँ र स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बगरकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा आएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख प्रकट गरेको छ ।