काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता एवम् उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
यसैगरी नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट भूकम्प पीडितको राहतका लागि प्रयोग हुने जहाजको शुल्कमा शतप्रतिशत छुट दिने निर्णय प्राधिकरणले गरेको छ ।