नेपाली कांग्रेसको छाया मन्त्रिपरिष्दको बैठक बसेको छ। छाया सरकार गठन भएको नौ महिनापछि मन्त्रिपरिषदको बैठक बसेको हो। छायाँ सरकारले नौ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि सभापति शेरबहादुर देवाले बैठक डाकेका हुन्।
सरकारले विगत नौ महिनामा गरेका कामकारबाहीबारे संयोजकहरूले सभापति शेरबहादुर देउवालाई प्रतिवेदनसमेत पेश गरेका छन्।कांग्रेसले २१ मन्त्रालय हेर्न आफ्ना सांसदलाई जिम्मेवारी दिँदै गत जेठ ६ गते ‘छाया मन्त्रीमण्डल’ बनाएको थियो। उक्त मन्त्रीमण्डलको पहिलो बैठक आइतबार बसेको हो।बैठकमा अधिकांश संयोजक (छाया मन्त्री) ले सरकारका कामकारबाही जनहित विपरीत रहेकोले पार्टी शसक्त रूपमा प्रस्तुत हुनुपर्ने बताएका थिए।
बैठकले सरकारका गतिविधि नजिकबाट नियाल्न संयोजक तथा सदस्यहरूलाई निर्देशन दिएको छ।बैठकका निर्णयबारे सेतोपाटीलाई जानकारी दिँदै राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले मन्त्रालयमा हुने भ्रष्टाचारलगायत विषय खोजेर बाहिर ल्याउन निर्देशन दिइएको बताए।एकपछि अर्को भ्रष्टाचार बाहिर आइरहेका छन्। त्यसलाई गहिरोसँग अध्ययन गर्नुपर्यो, खोज्नु पर्यो र ती घटनाहरूलाई बाहिर ल्याउनुपर्यो भनेर निर्देशन दिइएको छ।’२१ मन्त्रालय हेर्दै आएका संयोजक र सदस्यहरू (सांसद) लाई क्रियाशीलताका साथ काम गर्न पनि निर्देशन दिएको उनले बताए। ‘अलि क्रियाशील र गतिशील हुने गरी काम गर्न पनि भनेका छौं,’ उनले भने।
आफूले जिम्मेवारी पाएका मन्त्रालयका राम्रा/नराम्रा कामबारे सांसदहरूले बैठकमा जानकारी गराएको उनले बताए। ‘यो पहिलोपटक समीक्षा बैठक बसेको हो। अब हरेक महिना बैठक बस्छौं,’ पाण्डेले भने, ‘मन्त्रालयहरूमा हुने भ्रष्टाचारजन्य क्रियाकलाप राम्रोसँग खोज्नुपर्यो भन्नेमा यो बैठकले जोड दिएको छ।’सरकारले नीतिगत रूपमा ल्याउने विधेयकहरूमा पनि चनाखोपूर्वक सहभागिता जनाउने र पार्टीगत धारणा राख्न पनि निर्देशन दिइएको छ। ‘सम्बन्धित मन्त्रालय अन्तर्गत बनेका विधेयक छन् भने ती विधेयक कस्ता आएका छन्? त्यसमा पार्टीको धारणा के हो अलि चनाखो भएर काम गर्न भनेका छौं,’ उनले भने।