कञ्चनपुर । कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहीद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ ।
आज शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।
राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले शालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शालिक तोडफोडमा संलग्न १८ जनालाई भर्खरै नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
‘तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर थप बुझ्ने काम भइरहेको छ’, प्रवक्ता डाँगीले भन्नुभयो, ‘उनीहरुको नामावली संकलनलगायत काम पनि भइरहेको छ ।’
प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए । रासस