logo

२०८१ मंसिर १८ मंगलबार

logo
  • मंगलबार, १८ मंसिर २०८१
  • प्रधानमन्त्री ज्यु, हेलिकप्टरमा केक हैन सिटामोल र जीवनजल बोकेर कर्णाली कहिले जानुहुन्छ ?

    प्रधानमन्त्री ज्यु, हेलिकप्टरमा केक हैन सिटामोल र जीवनजल बोकेर कर्णाली कहिले जानुहुन्छ ?

    2.4K
    Shares

    सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार !

    तपाई माथी मेरा केही असन्तुष्टि र आशंकाहरू छन् । सायद यो मेरो मात्र होइन, अधिकांश नेपालीहरूको असन्तुष्टि र आशंका हो त्यसैले आज यो पत्र तपाईलाई लेख्न बिबश छु यो मेरो मात्र भावना हैन यो देशमा बस्ने यो देशलाई माया गर्ने नेपालीको भावना हो त्यसरी नै बुझ्नु होला ।

    कुरा सुरु गर्छु है त ।

    चार वर्षअघि मोदीले मधेसलाई उचालेर नेपालमाथि नाकाबन्दी गरेपछि नेपाली जनता असन्तुष्ट मात्र होइन आक्रोशित बने । मोदीको अघोषित नाकाबन्दीविरूद्ध तपाईंले लिनुभएको अडान साँच्चै प्रसंशायोग्य थियो । नेपाली जनताले मुक्तकण्ठले तपाईंको प्रसंशा गरे । जनतामा नाकाबन्दीको कारण पैदा भएको आक्रोश तपाईंप्रति विश्वासमा रूपान्तर भयो । फलस्वरूप तपाईं इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्न पुग्नु भयो । देश दुनियाँलाई थाहा छ, तपाईं हिजो लोकप्रियताको शिखरमा पुग्नु भएको थियो । त्यतिमात्रै होइन, नेपाली इतिहासकै सर्वाधिक शक्तिशाली शासक पनि बन्नु भएको हो

    तपाईंप्रतिको  आशा र विश्वास मान्छेमा जाग्दै थियो । तर, तपाईंप्रतिको विश्वास आज बिडम्बनामा बदलिएको छ । झन्डै झन्डै सिसा फुटेझैं टुक्राटुक्रा बन्न पुगेको छ । धेरैको अनुमान थियो, चमत्कार गर्नुहुनेछ । म पनि ढुक्क थिएँ, तर, आज म गलत सावित भएकी छु । तपाईं प्रष्ट हुनुहोला । कालोलाई कालो र सेतोलाई सेतो भन्ने एक सचेत नागरिक हुँ ।

    सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू , हिजो तपाईँलाई आफ्नो अमूल्य मत दिएर बिजयी गरी पठाउने
    मधेसका ती निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश चमार, डोम, दुसाध,….गरिब, दलित, मतदाताहरू बिच तपाईँ अलिकति न्यानो लिएर मधेस झर्नहुने छ र, जन्मदिनमा न्यानो बाँड्नुहुन्छ भन्ने हाम्रो चाहना थियो । जीवनजल नपाएर ज्यान गुमाइरहेका जाजरकोटका ती दुखी गरीबहरूलाई जीवनजलको पुरिया बोकेर जाजरकोट पुग्नुहुन्छ र जिवन बचाउनुहुन्छ भन्ने थियो । केक बोक्ने हेलिकप्टरमा सिटामोल सहित कर्णाली पुगेर त्यहाँका जनता सँग जनताको पिडा सुनिदिनु हुन्छ भन्ने कामना थियो तर, बिडम्बना ! तपाईंले जनताले चाहेअनुसार एउटा पनि काम गर्न सक्नु भएन । बरू उल्टो चटके शैलीमा यति ठूलो रकम खर्चेर जन्मदिन मनाएर जग हसाउनु भयो । सार्वजनिक पद धारण गरेका व्यक्तिहरू निकै अनुशासित र आदर्शवान हुनु पर्छ । सिक्ने भनेको ठूलाबाट नै हो । स्वयं विलासी र आदर्शहीन भए भने नागरिकले पनि त्यही कुरा अनुशरण गर्दै जान्छ ।

    राजनीति सवै नीतिको माउ नीति हो भने, बागद्धारमै फोहोर गरेर चोभारको गल्छीमा कसरी शुद्ध पानी खोज्ने ?

    प्रधानमन्त्रीज्यू ! तपाईंको दुई बर्षे कार्यकाललाई हामी नागरिकले कसरी सम्झने ? तपाईँको दुई बर्ष आन्तरिक कचिङल र उखानटुक्कामै बिते ।जस दिएन भन्नुहुन्छ । सहयोग गरेन भन्नुहुन्छ । गुनासाका गीत गाउँदै हिँड्नुहुन्छ । एकचोटि आफूले गरेका कामहरू सम्झिहेर्नुस् त !

    तपाईं कहिले पञ्चायती शैलीमा प्रतिपक्षीहरूलाई ठेगान लगाउन खोज्नुहुन्छ, कहिले कालो अरिंगाल बनेर बिरोधीहरूलाई टोक भन्नुहुन्छ । संसार हल्लाउने स्वरमा ३३ किलो सुन तस्करी समाउने शंखघोष गर्नुहुन्छ । ठूलो माछा र सानो माछाको कुरा आएपछि एकाएक कुरबाट हात झिक्नुहुन्छ । सार्वजनिक यातायातको सिन्डिकेट हटाउने घोषणा गर्नुहुन्छ । तर, अन्त्यमा आफैँले निर्णय सामसुम पार्नुहुन्छ । महंगी, कालाबजारी, कमिसन, भ्रष्टाचार, बलात्कार, हत्या, एसीड आक्रमण र महिलाहिंसाको त कुरै नगरौं । यी ‘महान काम” कहिले भएको थियो प्रधानमन्त्रीज्यू ?

    दैनिक हजारौं युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । ५० डिग्रीको तापक्रममा जीवन हत्केलामा राखेर युवाहरूले कमाएर पठाएको विप्रेषणबाट सरकार आर्थिक बृद्धिदर हृवात्तै बढेको र नेपाली पनि धनी हुँदै गएको भ्रम बाँडिरहनु भएको छ । तर, बिडम्बना, ५० लाख युवाहरू आज पनि विदेशमा रगत-पसिना बगाइरहेका छन् । प्रत्येक दिन ५-७ वटा शव कफिन बक्समा पोको पारेर नेपाल भित्रिरहेको छ । कहिले रोकिन्छ प्रधानमन्रीज्यू, नेपाली नारीको सिउँदो पखालिने यो क्रम ? अनि कहिले तोडिन्छ बिदेशमा युवाहरू बेचेर प्राप्त विप्रेषणबाट धनी भएको भ्रम ?

    आजकल बैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सन्जाल र बिभिन्न सन्चार माध्यामहरूमा दिनहुँजसो आइरहन्छ । सम्झेर अहिले पनि मुटु काँपी रहेको हुन्छ। ऐठन पर्दा पनि कहिल्यै यस्तो भएको थिएन । हुन त आफ्नै देशमा पनि हामी महिलाहरू कहाँ सुरक्षित छौं र ? लैंगिक विभेद र त्यसले निम्त्याउने बिविधखाले असुरक्षाहरू कदमैपिच्छे भोगि त रहेका छौं ।

    सम्माननीय प्रधानमन्रीज्यू ! खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । खासमा भन्ने हो भने चाहेको छैन । यस दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ । के अब गुमेको इज्जत फिर्ता हुन्छ र ?

    इतिहासमा कहिल्यै नभएका भ्रष्टाचारका काण्डहरू एकपछि अर्को थपिएको थपियै छन् । पहिला-पहिला लाख र करोडमा हुने भ्रष्टाचार, अब त अर्ब र खर्बमा हुन थालेको छ । जानकारहरू एनसेलमा ३३ अर्ब, कर फछ्र्यौैट आयोगमा २१ अर्ब, बुढीगण्डकीमा ७ अर्ब र एकजना सहसचिवले २० अर्ब भ्रष्टाचार गरेको जिकिर गरिरहेका छन् ।
    ठूला माछा तानिने भएपछि ३३ किलो सुन प्रकरण त्यतिकै सामसुम पारिएको छ । वाइड बडी जहाज खरिदमा अर्बौं भ्रष्टाचार भएको हुन सक्ने आशंका सबैले गरिरहेका छन् । यी त भए सतहमा आएका काण्डहरू । अदृश्य भ्रष्टाचार कति भएका र भइरहेका होलान् ? साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन । सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । ओपन हार्ट सर्जरी गरेकी मान्छे म । देशको दुर्दशा देख्दा कति गारो भयो होला सहनलाई ? झन्नै अस्पताल जानुपरेको । के ढाँट्नु तपाईलाई !

    सके आफ्नै दलभित्रबाट, नसके दलबाहिरबाट, त्यतिले पनि नसके देशबाहिरबाट सरकार बनेको दिनबाट सरकार ढलाउने षड्यन्त्र सुरू हुने देश हो नेपाल । माननीय सांसदज्यूहरू भेडाबाख्रा झैं किनबेच हुने देश हो नेपाल । अनि कसरी देशमा राजनीतिक स्थिरता कायम होला ? स्थिर सरकारविना देशलाई समृद्ध र स्वर्ग बनाउने नेताहरूको कबुल कसरी पुरा होला ? टाउको दुखेको औषधि नाभीमा दलेर खोई कसरी रोग निको होला र प्रधानमन्त्री ज्यू ?

    नेताहरूले भ्रष्टाचार रोक्ने, सुशासन र सदाचार कायम गर्ने वाचा गरेका हुन्छन् आ-आफ्नो घोषणा-पत्रमा । दलहरूको चुनावी घोषणा-पत्र पढ्दा सपनाको पुलिन्दा जस्तो लाग्थ्यौं ।
    चुनावमा खर्च भएको पैसा भ्रष्टाचार नगरी कसरी असुल उपर हुन्छ ? के जनताको नाममा मिनाहा गरिदेलान् त नेताहरूले ? असंभव । त्यसैले यो भ्रष्टाचार गर्न वाध्य पार्ने निर्वाचन प्रणाली परिबर्तन गर्नुस् । अनि मात्रै पत्याउँला सुशासन र सदाचारका कुरा ।

    प्रधानमन्त्रीज्यू ! देशमा असल राजनीति र कुशल नेताको खडेरी परिरहेको समयमा केही आशलाग्दा अनुहारहरू देख्दा मनै रोमान्चित भएर आउँछ । पक्कै अबचाहिँ केही हुन्छ कि जस्तो आशा मनभित्रैबाट पलाएर आउँछ । तर, तिनै आशलाग्दा अनुहारहरूबाट फेरि उही पुरानै पुस्ताले गरेको गलत कामको पुनरावृत्ति भएको देख्दा चाहिँ मन त्यसै त्यसै अत्यासिन्छ । दल र नेताहरूको ताल देखेर भित्रैदेखि फ्रस्टेसन सुरू भएको छ । देश कुनै वादको संकीर्ण सोंच राख्ने दल र नेताहरूबाट होइन, फराकिलो सोंच बोकेका, सही भिजन अनि देश र जनताप्रति समर्पित सहासी नेताहरूले बनाउने रहेछ । म त आजकल त्यस्तै नेताहरूको खोजीमा छु ।
    म धेरै राजनीति त बुझ्दिनँ । तर, मेरो अनुमानमा राजनीतिले अहिले लुँडो खेलमा ९९ अंकमा पुगेर सबभन्दा लामो सर्पको मुखमा परेजस्तै नियति भोगिरहेको छ । साँच्चै, अहिले नेपालका सबै नेतागणहरु प्रतिको भरोषा ९९ बाट पुछारको २ अंकमा झरेको छ ।

    (सुनौलो नेपालकी स्तम्भकार लेखिका राधा पोखरेल नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् )


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend