डोटी । डोटीमा देउसी भैलोबाट संकलित रकम तथा श्रमदान गरेर एक विपन्न महिलाको घर निर्माण गरिएको छ ।
यहाँको केआईसिंह गाउँपालिका–५ स्थित सरस्वतीटोलकी दलिद एवं विपन्न महिला खिमा टमट्टाको घर निर्माण गरिएको हो ।
२०७९ को असोजमा परेको अविरल वर्षाका कारण टमट्टाको घर भत्किएको थियो ।
टमट्टाको घर निर्माण गर्न सरस्वती टोलका युवाहरुले कात्तिक २५ गतेदेखि २९ गतेसम्म ५ दिन श्रमदान गरिएको स्थानीय युवा यज्ञ पार्कीले जानकारी दिनुभयो । घर निर्माण गर्न श्रमदान गरेका युवाहरु जस्तापाता खरिद गर्नका लागि देउसी भैलो खेलेका थिए ।
देउसीबाट संकलन गरिएको १० हजार सात ३१ र वडा अध्यक्ष दुर्गासिंह रावलले गरेको नगद ९ हजार रुपैयाँबाट जस्तापाता तथा अन्य सामग्री खरिद गरेर घर निर्माण गरिएको बताइएको छ । नयाँ घर निर्माण भएपछि आफु निकै खुशी भएकी विपन्न महिला खिमा टमट्टाले बताउनुभयो ।