फागुन १४ काठमाडौं: चीनको हुवे प्रान्तको युहानबाट शुरुभएको कोरोनाभाइरस विश्वव्यापी महामारीका रुपमा फैलिने चिन्ता उत्पन्न भएको छ। दक्षिण कोरियामा कोविड–१९ भनिने कोरोनाभाइरसले १२ जनाको ज्यान लिइसकेको छ । बुधवार मात्र १६९ वटा नयाँ केस आएका छन् । कुल संक्रमितको संख्या ११ सय ४६ पुगेको छ ।
कोरियाको दक्षिणपूर्वी शहर दाएगुमा एक धार्मिक समूहका ७३ वर्षीय पुरुषको भाइरसका कारण मृत्यु भएको नगर सरकारले जनाएको छ । ती व्यक्तिलाई मधुमेह र उच्च रक्तचापको समस्या छ र उनलाई आइतवार अस्पतालमा भर्ना गरिएको थियो । शिनचेओन्जी चर्च अफ जिसस नामक धार्मिक समूहका दुई लाख १० हजार सदस्य देशभरि फैलिएका छन् । उक्त चर्चका सदस्यलाई सबभन्दा बढी संक्रमण भएको छ । देशमा पुष्टि भएका संक्रमणमध्ये आधा त यिनै सदस्य छन् ।
सङ्क्रमित व्यक्तिको सङ्ख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्। यो वृद्धिसँगै दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिको सङ्ख्या चीनबाहिर सर्वाधिक पुगेको छ।