काठमाडौँ । नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गरेको छ ।
मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यक्रम सकेर आज आइतबार अछामबाट दैलेख जिल्ला प्रवेश गरेको हो ।
आइतबार बिहान मध्यपहाडी राजमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशले बिदाइ र कर्णालीले स्वागत गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको हो ।
सुदूरपश्चिमको अछाम र कर्णाली प्रदेशको दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेपछि अभियानको टोली कर्णाली प्रवेश गरेको हो ।
सोही पुलमा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा समेत हस्तान्तरण गरेका छन् । अभियान पुस १ गते पाँचथर पुगेर सकिने एमालेले जनाएको छ ।