logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बागमतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा

    बागमतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा

    987
    Shares
    बागमतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार खेलिएको इलिमिनेटर खेलमा बलियो बागमती प्रदेशलाई नौ विकेटको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा पुगेको हो ।

    इलिमिनेटर खेलमा पराजित भएपछि बागमती प्रदेश भने उपाधि होडबाट बाहिरिएको छ । सुदूरपश्चिम प्रदेशले अब दोस्रो क्वालिफायर खेलमा सोमबार कोशी प्रदेशको सामना गर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले बुधबार हुने फाइनलमा उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    आइतबार भएको इलिमिनेटर खेलमा टस जिती पहिले ब्याटिङ रोजेको बागमती प्रदेशले १९ ओभरमा अलआउट हुनुअघि ९९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने १४.३ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

    सुदूरपश्चिम प्रदेशका लागि ओपनर बिन्दू रावलले अविजित ५४ रनको योगदान गरिन् । उनले केवल ४९ बलको सामना गरी सात चौका पनि हिर्काइन् । अर्की ओपनर रुवि पोद्दार १८ रन बनाउँदै आउट भइन् । उनले २२ बलको सामना गरी दुई चौका हिर्काइन् ।

    तेस्रो नम्बरमा क्रिज समाल्न आएकी सम्झना खड्का २१ रनमा अविजित रहिन् । उनले केवल १६ बलमा दुई चौका प्रहार गरिन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा सात रन मात्र पायो । बागमती प्रदेशकी बलर मनिषा उपाध्यायले एक विकेट लिइन् ।

    त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६ रन बनाएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कञ्चनले ४६ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । सोनी पाख्रिनले पनि टोलीको खातामा १४ रन थपिन् ।

    ओपनर हेलिसा गुरुङले १० रन जोडिन् । खुसी डङ्गोलले पनि १० रन बनाइन् । बागमती प्रदेशका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रूपमा पनि ११ रन पाएको थियो ।

    सुदूरपश्चिम प्रदेशकी बलर करिश्मा थापाले तीन विकेट लिइन् । उनले चार ओभरमा ३२ रन खर्चिएकी थिइन् । लक्ष्मी साउद र रितु कनौजियाले पनि दुई–दुई विकेट हात पारे । लक्ष्मीले चार ओभरमा १५ र रितुले चार ओभरमा १० रन खर्चिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend