काठमाडौँ । जापानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी समाचार संस्था क्योदोका अनुसार सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मंगलबार बिहानसम्म १३ जनाको मृत्यु भएको हो ।
भूकम्पले इशिकावा प्रान्तको वाजिमा सहर सबैभन्दा धेरै प्रभावित भएको छ । त्यहाँका सयौं घर तथा भवनहरू भग्नावशेषमा परिणत भएका छन् ।
उद्धार तथा बचाउ कार्य जारी रहेको छ । केही क्षेत्रमा अझै पनि आगो बलिरहेको छ । लगातारको परकम्प तथा सडकमा भग्नावशेष रहेकाले भूकम्पपछि आगलागी भएका भवनको आगो निभाउन समस्या भएको जापानी अधिकारीले बताएका छन् ।
वाजिमा नगर अस्पतालमा मृत्यु भएका सात शव रहेको अधिकारीले जानकारी दिएका छन् । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएकोमा मंगलबार बिहान त्यसलाई हटाइएको छ ।
सोमबार राति वाजिमा बन्दरगाहामा १.२ मिटर अग्लो समुद्री छालले हिर्काएको थियो । मंगलबार बिहान एनएजकेले प्रसारण गरेको भिडियो फुटेजमा वाजिमा सहरको केन्द्रमा रहेको सात तले भवनमा आगो बलिरहेको देखिएको छ ।
भूकम्पका कारण ११ घण्टासम्म फसेको चार बलुटे ट्रेन आफ्नो स्टेसनमा पुगेको एनएचकेले जनाएको छ । एजेन्सी