फागुन १९ काठमाडौं – चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ। प्रयोगशाला परिक्षणमा उनीहरुमा कोरोनाभाइरस नेगेटिभ देखिएको हो। संक्रमण नभेटिएपछि उनीहरुलाई आजै घर पठाइने भएको छ।
क्वारेन्टाइनमा ल्याइएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार नै शनिबार परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
उनीहरुको नमुना शनिबार संकलन गरिएको थियो। उनीहरुलाई ल्याउने चालक दलसहितका १८ जनाको टिमको पनि नमुनामा कोरोना पाइएको छैन। चालक दलका टिम आइतबार नै घर फर्किसकेका छन्। उनीहरुलाई नगरकोट क्वारेन्टाइनमा राखिएको थियो।
सरकारले फागुन ४ गते कोरोना इपिसेन्टर चीनको वुहानबाट १७५ नेपालीसहित १८ जना चालक दलका सदस्यलाई उद्दार गरि भक्तपुर क्वारेन्टाइनमा राखेको थियो।