logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • श्रमदान गरेर बाँझो बगर करेसाबारी

    श्रमदान गरेर बाँझो बगर करेसाबारी

    1K
    Shares
    श्रमदान गरेर बाँझो बगर करेसाबारी

    म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रूपान्तरण गरेका छन् ।

    मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायामका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताए ।

    “कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो । झाडी फाँडेर खनजोत गरी करेसाबारी बनाएका हौँ”, उनले भने, “करिब दुई रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौँ ।” शारीरिक व्यायाम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी तरकारीमा आत्मनिर्भर बन्नका लागि सन्देश प्रवाह गराउन गत वैशाखमा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले श्रमदान अभियान सुरु गरेका थिए ।

    अधिकृत पौडेलको अभियानमा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष पेमा अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र बाबियाचौरका बासिन्दाले साथ दिएका छन् । फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारी कुटो कोदालो हातमा लिएर करेसाबारीमा काम गरेको भेटिन्छन् ।

    बर्खायाममा सिमी, लौका खेती भएको थियो । हिउँदमा बन्दा र काउली उत्पादन हुन थालेको छ । प्याज, लसुन, धनियाँ र साग खेती गरिएको छ । कार्यालय समयबाहेकको साँझ, बिहानको फुर्सद, शनिबार र अन्य सार्वजनिक बिदाका दिन करेसाबारीमा श्रमदान गर्ने गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाले बताए ।

    करेसाबारीको डिलतर्फ घेराबार गर्न गाउँपालिकाले रु ३७ हजार खर्च गरेको छ । अन्य सबै काम श्रमदानबाट गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए । प्रत्येक शनिबार बिहान ७ देखि १० बजेसम्म श्रमदानका लागि सहभागी हुन आग्रह गरिएको छ ।

    उत्पादन भएको तरकारी जनप्रतिनिधि र कर्मचारीले उपभोग गर्दछन् । घरायसी उपभोगका लागि आफैँ तरकारी उत्पादन गर्नुपर्ने सन्देश दिन खोजिएको कृषि प्राविधिक बानियाले बताए । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी खेती गरिएको हो । रोगकिरा नियन्त्रणका लागि पनि जैविक विषादीको प्रयोग गरिएको करेसाबारीलाई प्रदर्शनीस्थलको रूपमा विकास गर्ने योजना रहेको छ ।

    व्यावसायिक तरकारी खेतीबाट आयआर्जनका अलावा करेसाबारी बनाएर घरायसी उपभोगका लागि तरकारी खरिद घटाउन सकिन्छ । व्यायामका लागि करेसाबारीको काम गर्दा स्वस्थ र शारीरिक तन्दुरुस्त हुने अनुभव जनप्रतिनिधि र कर्मचारीले सुनाए । रासस

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend